२०७८ माघ ४ गते मङ्गलवार | 2022 January 18th Tuesday

नेपाली गाँजाको कपडा विदेशी बजारमा फैलाउँदै छन् नेपाली युवा हरु सम्मान स्वरुप सेयर गर्नु होस !

एलसन र बिनसन श्रेष्ठ सानैदेखि आफ्नी आमाको काम देख्दै हुर्किए। उनीहरूकी आमा बिनु श्रेष्ठ ‘विमेन क्रिएसन’ नामक संस्थाअन्तर्गत हस्तकला तथा लुगा सिलाइ-बुनाइको काममा संलग्न थिइन्।

आमाकै कामलाई निरन्तरता दिने मन भए पनि उनीहरूको त्यो क्षेत्रमा रूचि भएन। त्यसैले दाजुभाइ नै एक दशकअघि पढ्न भनेर अमेरिका गए। दाजु एलसन चार्टर्ड एकाउन्टेन्ट (सिए) र भाइ बिनसन ग्राफिक डिजाइनिङ पढिसकेर उतै काम गर्न थाले।

श्रेष्ठ दाजुभाइ र उनीहरूका साथी समिर शाही न्यूयोर्कको एक अर्गानिक (प्राकृतिक रेसाबाट बनेका) लुगाफाटा पाइने कम्पनीमा सँगै काम गर्थे। त्यतिबेला अमेरिकामा दिगो विकास अभियान चलेको थियो। सबै क्षेत्रमा वातावरण संरक्षणलाई ध्यानमा राखेर काम हुन्थ्यो। त्यहाँका मान्छेले एउटा अर्गानिक सामान किन्न सयौं डलर खर्च गरेको देख्दा उनीहरू छक्क परे।

‘न्यूयोर्कमा पाइलैपिच्छे लुगा पसल छ। तर त्यहाँका मानिसमा वातावरणप्रतिको चिन्तन र अगार्निक सामान किन्ने लगाव उत्तिकै छ। त्यो देखेर हामीलाई पनि यसैमा काम गर्न मन भयो,’ ३० वर्षीय बिनसनले भने।

बायाँबाट क्रमशः एलसन श्रेष्ठ, समिर शाही र बिनसन श्रेष्ठ
एलसन, बिनसन र समिर हरेक शुक्रबार यो विषयमा गफ गर्थे। राम्रो सामान बनाउन सके अमेरिकाको बजारमा स्थान पाउने विश्वास उनीहरूमा जाग्यो। समिर पेसागत रूपमै फेसन डिजाइनर हुन्। त्यसैले उनीहरूले लुगाफाटा नै बनाउने निधो गरे।

गफगाफमै उनीहरूले नेपालमा उत्पादित गाँजाबाट कपडा बनाएर अमेरिकामा बेच्ने सोचे। अनि सन् २०१२ मा ब्रान्डको आइडिया पनि फुराए- स्टेम्प।

यो शब्द डाँठको अंग्रेजी ‘स्टेम, र गाँजाको ‘हेम्प’ मिलाएर बनाएका हुन्। सन् २०१४ मा न्यूयोर्कमै ‘स्टेम्प’ दर्ता भयो। यसको काम भने एक वर्षपछि नेपाल आएर सुरू गरे

‘त्यहीबेला नेपालमा भुइँचालो गएर हाम्रो काम ढिलो भयो। सन् २०१६ बाट बल्ल सुरू गर्न पायौं,’ ३४ वर्षीय एलसनले सुनाए।

आमाको सिलाइ-बुनाइको कामले श्रेष्ठ दाजुभाइमा प्रभाव परेकै थियो। बुवा वित्तीय क्षेत्रमा काम गर्छन्। आमाबाट सिकेको सीप, बुवाबाट पाएको व्यवसायप्रतिको रूचि र वातावरण संरक्षणलाई ध्यानमा राखेर उनीहरू गाँजाका लुगा बनाउन उत्साहित थिए।

नेपाल आएर सुरूमा उनीहरूले गाँजा उत्पादन, आयातदेखि लुगा कसरी बनाउने भन्नेबारे अध्ययन गरे। भुइँचालो र लगत्तैको नाकाबन्दीपछि जब स्थिति सामान्य भयो, काम अघि बढाए।

उनीहरूले अमेरिकामा देखे-भोगेजस्तो सहज भने भएन।

‘गाँजाको लुगा सिलाउन दिँदा यहाँका टेलरलाई गाह्रो भयो। त्यस्तो कपडाबाट सिलाएकै रहेनछन्,’ एलसनले अनुभव सुनाए, ‘अनि यहाँ उत्पादित गाँजाको रेसा हामीले सोचेजस्तो गुणस्तरीय पनि पाएनौं। त्यसैले लुगा बनाउन छाडेर पहिले कपडा उत्पादन गर्नतिर लाग्यौं।’

उनीहरूले आफैं गाँजा ल्याएर, रेसा उत्पादन गरेर, लुगा बनाएर बेच्नुपर्‍यो। सोचेभन्दा धेरै झन्झट थपिए पनि त्योबेलाको महेनतले स्टेम्पलाई ब्रान्डका रूपमा चिनाउन सफल भएको उनीहरू बताउँछन्।

स्टेम्पमा पुरुष र महिलाले लगाउने सबैखाले लुगा, टाइ, स्कार्फ, झोलाका साथै गाँजाबाटै बनेको ल्याम्प र योगाम्याट पनि पाइन्छ। सबभन्दा महँगो उत्पादन लङकोट हो जसको अमेरिकामा १२० डलर पर्छ। नेपालीलाई भने अलि सस्तो छ। सबभन्दा सस्तो दुई सय बीस रूपैयाँ पर्ने मास्क हो। यसैगरी उनीहरूले गाँजाबाटै भित्रीवस्त्र उत्पादन गर्ने पनि योजना बनाएका छन्।

कम्पनीमा डिजाइनको पाटो समिरले सम्हालेका छन् भने मार्केटिङ र व्यवस्थापनको श्रेष्ठ दाजुभाइले।

बिनसनका अनुसार कपडा आयात गरेर लुगा बनाउँदा फाइदा हुन्छ। तर गुणस्तरमा सम्झौता नगर्ने भएकाले महँगो परे पनि यहीँ कपडा उत्पादन गरेको उनी बताउँछन्।

‘हामीलाई विदेशमा अर्गानिक लुगाको व्यवसाय मात्र बढाउनु थिएन, नेपालको योगदान पनि देखाउनु थियो,’ उनले भने।

एकताका अमेरिकाबाट गाँजा कपडाको माग निकै धेरै आएको थियो। त्योबेला उनीहरूले लुगाको काम रोकेर कपडा मात्र उत्पादन गरे।

लामो समय विदेश बसेर, पढेर, उतै राम्रो जागिर खाइरहे पनि श्रेष्ठ दाजुभाइले नेपालमै काम गर्ने सोचे। यसबारे उनीहरू भन्छन्, ‘हामीलाई आफ्नो भविष्य जागिरमा मात्र सीमित गर्नु थिएन। आफैं केही गर्ने सोच थियो। यो व्यवसायमा जोखिम भए पनि हामी पछाडि हट्नेवाला थिएनौं।’

स्टेम्पमार्फत् आफ्नै व्यवसाय चलाउने सपना पूरा गर्न पाएकोमा उनीहरू खुसी छन्। परिवारले पनि सुरूदेखि साथ दिएको छ। विशेषगरी आमा बिनु धेरै खुसी भइन्।

तर नेपाली बजारमा गाँजा कपडाको महत्व धेरै नभएकाले स्टेम्पका उत्पादन बेच्न समस्या भएको एलसन बताउँछन्। उनीहरूका उत्पादन अमेरिका, अस्ट्रेलिया र नेदरल्यान्ड्समा धेरै बिक्छ।

‘हामीकहाँ गाँजाका लुगा धेरैले किन्दैनन्, लाउँदैनन्। अहिले पनि बोराको लुगा भनेर मजाक बनाउँछन्। यसको फाइदाबारे धेरैलाई ज्ञान छैन,’ एलसन भन्छन्, ‘त्यसमाथि शुद्ध गाँजाका उत्पादन महँगो हुन्छ। विदेशमा अर्गानिक सामानको माग बढ्दो भएकाले उनीहरू पैसा खर्च गर्न हिचकिचाउँदैनन्।’

कोही नेपाली आफ्ना सामान किन्न आउँदा पनि निकै खुसी लाग्ने उनी बताउँछन्। त्यसैले नेपाली बजारमै आफ्ना उत्पादन चिनाउन लागि परेका छन् उनीहरू। ललितपुर, झम्सिखेलस्थित इन्टरनेसनल क्लबभित्र स्टेम्पको पसल छ। अमेरिकाको पसल भने कोरोनाको कारण बन्द भयो।

देशबाहिर र भित्रका सबै कारोबार अहिले अनलाइनमार्फत गरिरहेका छन्। विदेशीले प्रायः होलसेलमा कपडै मगाउँछन्। त्यसैले अर्डर आएकाबेला एकैचोटि उत्पादन हुन्छ।

अहिले राम्रै कारोबार भए पनि सुरूका दिनमा घाटामा सामान बेचेको बताउँछन् एलसन। सन् २०१८ देखि बल्ल कमाइ सुरू भएको थियो। कोरोनाअघि वर्षमा करिब २५ लाख फाइदा भएको थियो। उनले भने, ‘कहिले एकदमै धेरै अर्डर आएर भ्याइनभ्याइ हुन्छ। कहिले ठप्प। त्यसैले कमाइ छ भनेर ढुक्क हुने स्थिति भने छैन।’

तर स्टेम्पले नाम कमाउँदै गएकाले उनीहरू खुसी छन्।

‘गाजाँबाट दस हजार सामान बन्छ। विदेशमा गाडीदेखि घरसम्म बनिसक्यो। हामीलाई पनि गाँजाबाट सबैथरी उपयोगी सामान बनाउनु छ। यस्तो काम गर्न मन छ, कसैलाई गाँजाको सामान किन्नु परे स्टेम्प नै सम्झिऊन्।’

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस